सिराहा । सिराहाको धनगढीमाई नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनाबाट ठूलो मात्रामा गाँजा फेला परेको छ। प्रहरीले घटनास्थलमा कारभित्र पाँच वटा पोकामा १ क्विन्टल ३० किलो गाँजा बरामद गरेको जनाएको छ।

शनिबार साँझ करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्न खोज्दै गरेको बा ८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि भएको अनुसन्धानमा गाँजा लुकाइएका पोकाहरू कारभित्र फेला परेका हुन्।
प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितका अनुसार दुर्घटनामा संलग्न ट्रक र कार नियन्त्रणमा लिइएको छ भने ट्रक चालकलाई पनि पक्राउ गरिएको छ। तर, कार चालक भने घटनापछि भाग्न सफल भएका छन्।
स्थानीयको विवरण
स्थानीयले दिएको जानकारीअनुसार दुर्घटनापछि कार चालकले गाँजा र गाडीको नम्बर प्लेट हटाएर अन्य गाडीमा भाग्ने प्रयास गरेका थिए। तर, स्थानियको उपस्थिति बढ्दै गएपछि उनी सबै सामान त्यहीं छाडेर फरार भएका हुन्।
प्रहरी अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख एसपी पण्डितले फरार चालकको खोजी तीव्र बनाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ।


