सिरहा जिल्लाका लागि दशकौँदेखिको प्रतीक्षामा रहेको एउटा महत्वपूर्ण अवरोध अन्ततः हटेको छ। युवा तथा मित्र मन्त्री बब्लु गुप्ताको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले लहानस्थित प्रादेशिक अस्पतालको जग्गा नामसारी सम्बन्धी प्रक्रिया टुंग्याउने ऐतिहासिक निर्णय गरेको हो।
करिब ४७ वर्षदेखि अल्झिँदै आएको उक्त जग्गा समस्या समाधान भएसँगै अस्पतालका नाममा १ विघा १५ कठ्ठा १० धुर क्षेत्रफलको जग्गा आधिकारिक रूपमा स्वामित्वमा आएको छ। यस क्रममा एक करोड ३४ लाख रुपैयाँभन्दा बढीको पुँजीगत लाभकर छुट दिइनु पनि निर्णयको अर्को महत्वपूर्ण पक्ष रहेको छ।
यस निर्णयले सिरहा जिल्लाका करिब १० लाख नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। अस्पतालको पूर्वाधार विस्तार, आधुनिक उपचार सेवा र दीर्घकालीन रूपमा ट्रमा सेन्टर स्थापना गर्ने बाटो अब खुला भएको सरोकारवालाहरूले बताएका छन्।
स्थानीयवासीका अनुसार, यो निर्णयले न केवल स्वास्थ्य सेवाको पहुँच बढाउनेछ, तर वर्षौँदेखिको प्रशासनिक जटिलता अन्त्य गरी विकासप्रतिको भरोसा पनि मजबुत बनाएको छ। मन्त्री बब्लु गुप्ताको नेतृत्वलाई जिल्लावासीले स्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।


