जनकपुरधाम — सिरहाको गोलबजार नगरपालिकामा पाँच जना लागुऔषध प्रयोगकर्ताले आफ्नै साथीको हत्या गरेको तथ्य सार्वजनिक भएको छ। गोलबजार नगरपालिका–१३ निवासी २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको रहस्योद्घाटन भएको छ।
महराको शव असोज २८ गते साँझ सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा, शरीरको माथिल्लो भाग बालुवाले छोपिएको अवस्थामा फेला परेको थियो। अनुसन्धानको क्रममा, कृष्ण आफ्ना साथीहरूसँग दुर्गा मेला हेर्न गएका बेला लागूऔषध सेवन गरेका साथीहरूबाट यातनासहित हत्या भएको जानकारी प्रहरीले दिएको छ।
हत्या आरोपमा गोलबजार नगरपालिका–१३ का २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम, र २० वर्षीय मोहम्मद जमसेदलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी गराए।
अनुसन्धानअनुसार असोज २७ गते राति कृष्ण र रोहित दुर्गा पूजाको मेलामा पुगेका थिए। त्यहाँ उनीहरूले अन्य साथीहरूलाई भेटे। उनीहरूले मेला स्थलभन्दा पूर्वतर्फको खोलानजिक गई गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए।
सोधपुछका क्रममा, कृष्णले आफूले चिनेकी एक युवतीलाई भेट्न चाहेको कुरा सुनाउँदा उनका अन्य साथीहरूले पनि उनलाई भेट्न इच्छा व्यक्त गरेका थिए। तर, कृष्णले आफ्नो सहमति नजनाउँदा विवाद उत्पन्न भएको थियो। उक्त विवादकै क्रममा रिसको आवेगमा साथीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए।
डीएसपी पासवानका अनुसार, पाँचैजनाले कृष्णलाई चारैतिरबाट घेराबन्दी गर्दै धारिलो वस्तु प्रयोग गरी घाँटी र पेटमा आक्रमण गरी निर्ममतापूर्वक हत्या गरेका थिए। अपराधको प्रमाण लुकाउन, उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनी, शवको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए।
असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै घटना आफ्नै साथीहरूको संलग्नतामा भएको पुष्टि गरेको छ। आरोपीहरूलाई नियन्त्रणमा लिई, अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


