सिन्धुली — सिन्धुली जिल्लामा गोली लागेर एक युवकको मृत्यु भएको घटनाले स्थानीय क्षेत्र शोकमा डुबेको छ। सुनकोसी गाउँपालिका–५ बन्दिपुर निवासी भिमबहादुर तामाङका २२ वर्षीय छोरा आशमान तामाङ मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार आशमान तामाङलाई आफ्नै घरदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ पर्ने घ्याङलेख गाउँपालिका–१ को पिउरी खोलानजिकको जंगलमा मृत अवस्थामा भेटिएको हो। उनी जमिनमा उत्तानो परेर ढलेका थिए भने नाभी क्षेत्रबाट रगत बगिरहेको देखिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आशमानको पेटको भागमा गोली लागेको पुष्टि भएको छ। घटनास्थल नजिकै एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको छ। साथै, मृतकले बोकेको झोलाभित्र निलो बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो धुलो र रातो बिर्को भएको अर्को बट्टामा फलाम तथा सिसाका टुक्रा भेटिएको प्रहरीको भनाइ छ।
घटनास्थलमै आवश्यक मुचुल्का सम्पन्न गरी शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए। घटनाको प्रकृति हेर्दा बन्दुक आफैं चलाउँदा दुर्घटनावश गोली लागेर मृत्यु भएको वा कसैले गोली हानी हत्या गरेको हुनसक्ने दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे सत्य तथ्य पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान अगाडि बढाएको छ।


