वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयले शैक्षिक पूर्वाधार र समग्र विकासका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको छ। उक्त सहयोग नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत प्रदान गरेको हो।
विद्यालय परिसरमै आज आयोजित विशेष कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका निर्देशक कमलेश कुमार अग्रवालले विद्यालयका प्रधानाध्यापक विनोद मेहतालाई ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामानन्द पराजुली, उप–प्रमुख कार्यकारी अधिकृत अमित कुमार क्याल, प्रदेश प्रबन्धक दशरथ झा, ब्रान्ड विभाग प्रमुख अमित झा, वीरगञ्ज शाखा प्रमुख रोशन यादवसहित विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिले शिक्षा क्षेत्रको उन्नयनमा निजी क्षेत्रबाट प्राप्त यस किसिमको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै नेपाल लाइफ इन्स्योरेन्स परिवारप्रति आभार प्रकट गरेको छ।


