
११ जेठ, वीरगन्ज
वीरगन्ज महानगरपालिका–१६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा आइतबार एकदिने साइबर अपराधसम्बन्धी सचेतनामूलक तालिम सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजना र वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८ र ९ का ७६ जना विद्यार्थीहरू सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले साइबर अपराधका स्वरूप, त्यसबाट हुन सक्ने नोक्सानी, कानुनी कारबाही तथा सजायको विषयमा विस्तृत जानकारी दिएका थिए। उनले वृत्तचित्रमार्फत साइबर सुरक्षाका उपायहरू पनि प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सतर्क रहन र इन्टरनेटको प्रयोगमा सावधानी अपनाउन आग्रह गरे।