
वीरगन्ज, असार १
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ। उनी हाल सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका छन्।
पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले वीरगन्ज–११० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अनियमितता भएको आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा अघि बढाएको हो। सहकारीको करिब १ अर्ब ३२ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ। लामिछानेमाथि मात्र ११ करोड ५६ लाख रुपैयाँ हिनामिनाको दाबी छ भने अर्का व्यक्ति छविलाल जोशीमाथि ७ करोड २० लाख रुपैयाँको दाबी गरिएको छ।
यसअघि बैशाख १४ गते, पर्सा प्रहरीले विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको निष्कर्ष निकालिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी (काठमाडौं) मा १ अर्ब १५ करोड, र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख रुपैयाँ स्थानान्तरण गरिएको विवरण खुलेको थियो।
मुद्दा दर्ताअघि ४३८ जना पीडित बचतकर्ताहरुले चरणबद्ध रूपमा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए। २०८० साउन २१ गते ५२ जना, भदौ २२ गते २०७ जना र २०८१ फागुन २ गते १७९ जनाले उजुरी दर्ता गराएका थिए। उनीहरूले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग भएको दाबी गरेका थिए।
सुरुवाती अनुसन्धान ठगी अभियोगमा केन्द्रित भए पनि पछि संसदीय छानबिन समितिको सिफारिसअनुसार शुद्धिकरण र संगठित अपराधसमेतको अनुसन्धान गरिएको थियो।
पर्सा प्रहरीले लामिछानेलाई मंसिर २४ गते पोखराबाट पक्राउ गरी वीरगन्ज ल्याएको थियो। त्यसको भोलिपल्ट उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर करिब चार घण्टा बयान लिइएको थियो। सोही दिन उनी हवाईमार्गबाट काठमाडौं पठाइएको थियो।
हाल रवि लामिछाने सुप्रिम सहकारीको मुद्दामा भैरहवा कारागारमा पुर्पक्ष थुनामा रहेका छन्। वीरगन्जको मुद्दाले भने सहकारी प्रकरणमा उनको भूमिकालाई थप कानुनी चुनौती सिर्जना गरेको छ।