निरंजन शाह,
पर्सा, बिरगंज – सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साले आफ्नो १८औं स्थापना दिवस तथा २०८२ सालको सुरुवातको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बिरगंज महानगरपालिका अन्तर्गत रहेको उक्त गण परिसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा विभिन्न जातजातिका विरुवा रोपिएका छन्। वृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी उपरीक्षक तथा गणपती राधेश्याम धिमालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा गणमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो भने ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर बीरगंजका अध्यक्ष जय प्रकाश खेतानको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष खेतान स्वयंले पनि विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणमा योगदान पुर्याएका थिए।
वृक्षारोपण कार्यक्रमका बारेमा जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले वातावरण संरक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले स्थायित्व र हरियालीको सन्देश दिन वृक्षारोपण गरिएको पनि जानकारी दिनुभयो।
स्थापना दिवसको अवसरमा गरिएको यो कार्यक्रमले पर्यावरणीय सन्देश मात्र नभई प्रहरी र समुदायबीचको सहकार्यलाई पनि मजबुत बनाएको छ।


