
सर्लाही: सर्लाही जिल्लाको ब्रम्हपुर गाउँपालिकामा प्रहरीद्वारा लागुऔषध गाँजा लुकाएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। सर्लाहीको ब्रम्हपुर गाउँपालिका-५, सखुअवा गाउँका २१ वर्षीय पंकज साहलाई करिब १० किलोग्राम गाँजासहित पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको छ।
प्रहरीले दिएको विवरण अनुसार, पंकज साहले आफ्नो घरभित्र गाँजा लुकाएको भन्ने सूचनाको आधारमा छापा मारी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका साहमाथि लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत मलंगवाबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, डिएसपी दीपक श्रेष्ठले यस घटनामा थप अनुसन्धान भइरहेको र यदि अभियोग प्रमाणित भएमा कानूनअनुसार आवश्यक कारबाही गरिने जानकारी दिए।