सर्लाही, लालबन्दी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ मा भन्सार छली गरिएका अवैध वस्तुहरूसहित एक भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडी नियन्त्रणमा लिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको सक्रियतामा उक्त गाडीबाट सुनचाँदीका गहना र नगदसहित करिब १५ लाख रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरिएको हो।
नवलपुरस्थित ट्राफिक कार्यालय अगाडि नियमित जाँचको क्रममा भारतको बीआर ३० एके ७२२० नम्बरको गाडी चेकजाँचका लागि रोकिएको थियो। गाडी रोकेपछि चालकसँग भन्सारसम्बन्धी कुनै कागजात नदेखिएको र उनी मादक पदार्थ सेवनको अवस्थामा रहेको पुष्टि भएपछि ट्राफिक प्रहरीले अर्काे चालकको व्यवस्था गरेरमात्र यात्रा गर्न निर्देशन दिएको थियो।
तर गाडीमा रहेका अन्य चार यात्रु आवश्यक कागजात ल्याउने भन्दै गन्तव्यतिर लागे पनि लामो समयसम्म नफर्किएपछि सुरक्षाको कारण देखाउँदै गाडीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षकको टोलीले जनाएको छ।
पछिल्लो अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाडीको सूक्ष्म तलासी लिएको थियो। तलासीका क्रममा स्कोर्पियोको इन्जिन कम्पार्टमेन्टभित्र प्लास्टिक र गम्छाले बेरिएका सुनचाँदीका गरगहना फेला परेका थिए। साथै अन्य भागहरूबाट समेत केही नगद र चाँदीका वस्तुहरू बरामद भएका छन्।
सुरक्षाकर्मीहरूले प्रारम्भिक रूपमा बरामद सामानको मूल्य करिब १५ लाख रुपैयाँ बराबर अनुमान गरेका छन्। प्रहरीले स्कोर्पियो र त्यसमा भेटिएका सामग्रीहरूलाई भन्सार छली तथा अवैध आयातसम्बन्धी कारबाहीको लागि मलंगवास्थित सर्लाही भन्सार कार्यालयमा बुझाइसकेको छ।
फरार रहेका संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


