सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले विशेष सूचनाको आधारमा परालको भुस बोकेको मिनि ट्रकबाट ठूलो मात्रामा काजु बरामद गरेको छ।
प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनि ट्रकलाई रोकेर जाँच गर्दा, परालको भुसभित्र लुकाएर तस्करी गर्न खोजिएको काजु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ट्रकबाट झण्डै १० क्विन्टल काजु बरामद गरिएको छ, जसको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको छ।
यस घटनासँग सम्बन्धित आरोपमा बरहथवा नगरपालिका–१३, बसवरीया निवासी अन्दाजी ५६ वर्षीय राजबंशी झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको काजु, ट्रक र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अगाडि बढाएको जनाएको छ। प्रारम्भिक अनुमानमा यो काजु अवैध तवरले भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ।
तस्करी नियन्त्रण तथा अवैध कारोबारमाथि निगरानी बढाइएको सर्लाही प्रहरीले जनाएको छ।


