
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति जुटेपछि देशभर बन्द रहेका सरकारी विद्यालयहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। करीब एक महिनासम्म जारी आन्दोलनले विद्यालयहरूको नियमित पठनपाठन प्रभावित पार्दा हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको थियो।
शिक्षकहरूले सरकारी नीति तथा संरचना परिवर्तनको माग गर्दै काठमाडौँमा व्यापक प्रदर्शन गरेका थिए। आन्दोलनका कारण शिक्षण मात्र होइन, नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया समेत प्रभावित बनेको थियो।
सरकार र शिक्षक संगठनबीच भएको नौ बुँदे सहमति अनुसार शिक्षकहरू पुनः आ-आफ्नो विद्यालयमा फर्किएका छन्। सहमति बुधबार भएको भए पनि यसको औपचारिक जानकारी बिहीवार सार्वजनिक भएको थियो। त्यसकै आधारमा विद्यालयहरू आज शुक्रबारदेखि खुलेका हुन्।
शिक्षकहरूले प्राथमिकता स्वरूप अहिले भर्ना अभियानलाई अगाडि बढाउने र केही दिनभित्र नियमित कक्षा सञ्चालन गरिने जानकारी दिएका छन्।