काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली रास्वपा पार्टीको केन्द्रीय कार्यालय पुगेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यसबारे जानकारी दिँदै भन्नुभयो, “हामी कानुनी राज्यको सम्मान गर्छौँ। हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ।”
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।



