सप्तरी, २९ वैशाख।
भारत–पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध र विदेशी नागरिकको बढ्दो आवागमनबीच सप्तरीमा ६ जना बंगलादेशी नागरिक फेला परेका छन्। धार्मिक कार्यका लागि नेपाल आएका ती नागरिक हनुमाननगर कंकालनी नगरपालिका–३ स्थित भारदहको रहमानीया जामे मस्जिदमा बसोबास गरिरहेका छन्।
मस्जिदका सचिव सरिफ रहमानका अनुसार ती विदेशी मुस्लिम धर्मावलम्बी बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं, त्यसपछि मोरङ र सुनसरी पार गर्दै सप्तरी आइपुगेका हुन्। उनीहरू करिब चार महिनाको धार्मिक भ्रमणमा नेपाल आएका थिए।
प्राप्त जानकारी अनुसार ती नागरिक ‘अराइभल भिसा’मा नेपाल प्रवेश गरेका थिए। तर, उनीहरूको भिसा म्याद गत चैत महिनामा सकिएको थियो। त्यसपछि विराटनगरस्थित अध्यागमन कार्यालयमार्फत आगामी २०२५ को जुनसम्म भिसा नविकरण गरिएको छ।
तराई मधेसका विभिन्न क्षेत्रमा पछिल्लो समय विदेशीहरूको आवागमन र धर्म प्रचार सम्बन्धी गतिविधि तीव्र बन्दै गइरहेको छ। स्थानीयवासी र सरोकारवाला पक्षहरूले राज्यको निगरानी प्रणाली कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।
नेपालमा धर्म प्रचार तथा परिवर्तनसम्बन्धी गतिविधि संवेदनशील विषय रहँदै आएको छ। यस सन्दर्भमा सप्तरीमा फेला परेका विदेशी धर्मप्रचारकहरूको उपस्थिति प्रशासन र सुरक्षासम्बन्धी निकायका लागि पनि थप चुनौती बन्न सक्ने देखिन्छ।


