काठमाडौँ, मङ्सिर १० – आसन्न उपनिर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ।
आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा सञ्चालन हुने यस केन्द्रले निर्वाचन प्रक्रियामा हुने कुनै पनि अवरोधको छिटो समाधान गर्ने, आचारसंहिताको पालना सुनिश्चित गर्ने, उजुरी र गुनासाहरूको तत्काल सम्बोधन गर्ने लगायतका कामहरूलाई प्राथमिकता दिनेछ। साथै, निर्वाचन व्यवस्थापनसँग सम्बन्धित विभिन्न पक्षको निरन्तर निगरानी गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार, निर्वाचन परिणाम घोषणा नभएसम्म यो केन्द्र सक्रिय रूपमा सञ्चालनमा रहनेछ।
केन्द्रमा आयोगका सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी तथा आयोगका उपसचिवद्वय दुर्गाप्रसाद चालिसे र डा. थानेश्वर भुसाल सदस्यका रूपमा सहभागी हुनुहुन्छ।
आगामी मङ्सिर १६ गते स्थानीय तहका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। यो केन्द्रले निर्वाचन प्रक्रिया निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


