वीरगंज, १२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आगामी निर्वाचनमा जनताको दुःख–सुखमा साथ दिने नेतृत्वलाई नै मत दिनुपर्ने समय आएको बताएका छन्।
चुनावी प्रचारप्रसार, घरदैलो अभियान तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै यादवले विगतमा वीरगंजमा गम्भीर सुख्खा परेको बेला आफूले लिएको पहल स्मरण गरे। नगरवासीहरू खानेपानीको चरम अभावमा परेका बेला केन्द्र सरकारसँग समन्वय गरी बजेटको व्यवस्था गराएर धारा, बोरिङ, ट्युबवेल र रिजर्भ ट्याङ्कीमार्फत पानी वितरण गरिएको उनले बताए।
उनले भने, “आपत् पर्दा को जनताको पक्षमा उभिन्छ र को केवल भाषणमै सीमित हुन्छ भन्ने कुरा जनताले आफ्नै आँखाले देखिसक्नुभएको छ।”
पूर्व मन्त्रीसमेत रहेका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा परिणाममुखी काम गरेर मन्त्रालयको प्रभावकारी भूमिका देखाएको दाबी गरे। अधुरा विकास निर्माणका योजनाहरू पूरा गर्न फेरि एकपटक जनताले विश्वास गर्नुपर्ने उनको आग्रह थियो।
यादवका अनुसार एमालेसँग समस्या पहिचान गर्ने क्षमता मात्र होइन, समाधान गर्ने दृढ इच्छाशक्तिसमेत छ। उनले सुख्खाग्रस्त क्षेत्रका समस्या समाधानदेखि कोरोना महामारीका बेला वीरगंज र आसपासका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि खेलेको भूमिकाको पनि चर्चा गरे।
शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक क्षेत्रका सुधारका कामहरू नै आफ्नो राजनीतिक प्रतिबद्धताको आधार भएको उनको भनाइ छ।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटको समयमा साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार पर्सा–१ मा विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएको छ।


