वीरगञ्ज । श्रीसिया नदी संरक्षणका लागि सक्रिय रहँदै आएको श्रीसिया नदी बचाऊ अभियान समितिले नदीमा फैलिँदै गएको औद्योगिक प्रदूषणप्रति कडा आपत्ति जनाउँदै वीरगञ्ज उद्योग वाणिज्य संघलाई औपचारिक चेतावनी दिएको छ ।
बुधबार अभियान समितिका प्रतिनिधिहरूले संघका अध्यक्षसमक्ष निवेदन बुझाउँदै वीरगञ्ज आसपास सञ्चालनमा रहेका केही उद्योगहरूले लामो समयदेखि श्रीसिया नदीमा रासायनिक फोहोर, विषाक्त ढल तथा औद्योगिक अवशेष सीधै मिसाउँदै आएको आरोप लगाएका छन् । यसका कारण नदीको पानी अत्यन्त दूषित भइसकेको र स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको समितिको भनाइ छ ।
निवेदनमा प्रदूषणले कृषियोग्य जमिनको उर्वराशक्ति नष्ट हुँदै गएको, जलचर जीव संकटमा परेको तथा समग्र वातावरणीय सन्तुलन बिग्रँदै गएको उल्लेख गरिएको छ । अभियान समितिले उद्योग वाणिज्य संघ उद्योगीहरूको प्रतिनिधि संस्था मात्र नभई सामाजिक र वातावरणीय उत्तरदायित्व बहन गर्ने निकायसमेत भएकाले दोषी उद्योगमाथि तत्काल कडा कदम चाल्नुपर्ने धारणा राखेको छ ।
समितिले संघलाई ७२ घण्टाभित्र प्रदूषण नियन्त्रणका लागि प्रभावकारी र ठोस निर्णय गर्न आग्रह गर्दै तोकिएको समयभित्र पहल नदेखिए आगामी शनिबारदेखि उद्योग वाणिज्य संघको कार्यालय परिसरमा अनिश्चितकालीन धर्ना, विरोध कार्यक्रम तथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
यसबाट सिर्जना हुने अवस्थाको सम्पूर्ण जिम्मेवारी संघको नेतृत्वले लिनुपर्ने उल्लेख गर्दै अभियान समितिले श्रीसिया नदीको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएको छ । समयमै समस्या समाधानतर्फ संघ गम्भीर भएर अघि बढ्ने विश्वास पनि समितिले व्यक्त गरेको छ ।


