
वीरगंज, १९ जेठ — पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–५ का दीपेश कुमार पटेलसहित दर्जनौं सर्वसाधारणले आफूहरू ठगीको शिकार भएको गुनासो सार्वजनिक गरेका छन्। वीरगंज महानगरपालिका–१६, नगवा निवासी शेख मकबुलको नेतृत्वमा सञ्चालित समूहले योजनाबद्ध रूपमा सर्वसाधारणलाई ठगेको आरोप उनीहरूले लगाएका हुन्।
आईतबार वीरगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पीडितहरूले विभिन्न बैंकहरूमा खाता खोल्न लगाएर ती खाताको एटीएम कार्ड र चेकबुक आफैंसँग राखी रकम संकलन गर्ने कार्य भएको खुलासा गरेका छन्। दावीअनुसार महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गरिमा बैंक लगायतका वित्तीय संस्थामा पीडितहरूबाट खाता खुलाइएको थियो।
दीपेश पटेलले प्रस्तुत गरेका बैंक स्टेटमेन्टहरूमा करोडौं रुपैयाँ बराबरको कारोबार भएको देखिएको उल्लेख गरिएको छ। ती खातामार्फत विभिन्न व्यक्तिहरूसँग फोनमा रकम माग्ने र संकलन गर्ने काम भएको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा फेटा गाउँपालिका–४ का अनुरोध महतो, छिपहरमाई–५ का रामशिष कुर्मी, कालिकामाई गाउँपालिका–१ का शुभनारायण चौरसिया, वडा नं. ३ का शिवनारायण चौरसियालगायतका अन्य व्यक्तिहरूले पनि आफूहरू सोही तरिकाले ठगिएको अनुभव साझा गरे।
शेख मकबुल समूहमा वीरगंजका ‘पप्पु’ भनेर चिनिने नितेश चौरसिया, शेख साहिल र अमन शर्माको संलग्नता रहेको पीडितहरूको भनाइ छ। यद्यपि प्रहरीले शेख मकबुललाई १० दिनअघि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिसकेको भए पनि ठगीसम्बन्धी मुद्दा अहिलेसम्म दर्ता नभएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
प्रहरी उपरीक्षक मिश्रले ठगीसम्बन्धी उजुरी नआएको स्पष्ट पार्दै उजुरी परेमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।