
काठमाडौं — आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको वार्ता सकिएसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
दिउँसोदेखि थालिएको छलफल साँझमा आएर टुंगिएको हो। वार्ता सकिएलगत्तै छलफलमा बनेको सहमतिको प्रारूप मन्त्रिपरिषद्मा पेस गरिएको छ। तर, छलफलमा के–कस्तो सहमति भएको हो भन्ने जानकारी सार्वजनिक गरिएको छैन।
वार्तामा शिक्षा मन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखकसहितका अधिकारी सहभागी थिए। ती मन्त्रीहरू छलफल सकिएपछि मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन पुगेका हुन्।
सरकार र शिक्षक महासंघबीच लामो समयदेखिको संवादले अहिले निष्कर्षको बाटो लिएको संकेत देखिएको छ। सहमतिका बुँदाहरू स्वीकृत भएपछि आन्दोलनको गति रोकिने अपेक्षा गरिएको छ।