२८ फागुन, काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना मागहरू पूरा गराउन दबाबस्वरूप दोस्रो चरणको आन्दोलन जारी राखेको छ। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका शिक्षकहरू बुधबार नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा प्रदर्शन गर्न पुगेका छन्।
महासंघले घोषणा गरेको आन्दोलन कार्यक्रमअनुसार शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यालयअगाडि धर्ना दिँदैछन्। आगामी चैत १ गते माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको छ। महासंघका अनुसार आन्दोलन चैत ५ गतेसम्म जारी रहनेछ।
शिक्षकहरूले स्थायी नियुक्ति, सेवा सुविधा, बालविकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन, विशेष शिक्षा प्रवर्द्धन तथा सरकारी र निजी विद्यालयबीचको असमानता हटाउनुपर्ने माग राख्दै आन्दोलन चर्काएका हुन्। महासंघका नेताहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।


