
१७ वैशाख, काठमाडौं — केही साताअघि मात्रै शिक्षामन्त्रीबाट राजीनामा दिएकी एमाले नेतृ विद्या भट्टराईले तयार पारेको प्रस्तावकै आधारमा सरकारले शिक्षक आन्दोलनसँग सहमति गर्यो । तर सहमतिपछि गरिएको औपचारिक पत्रकार सम्मेलनमा उनको नाम उल्लेख हुन भने समय लाग्यो ।
गत चैत २० देखि शिक्षक महासंघले गरेको आन्दोलन समाधानका लागि भट्टराईले वार्ता अघि बढाउँदै सातबुँदे प्रस्ताव तयार गरेकी थिइन् । सो प्रस्तावले सरकारलाई करिब ८ अर्ब रुपैयाँको अतिरिक्त आर्थिक भार थप्ने अनुमान गरिएको थियो । स्रोत सुनिश्चित नहुँदा भट्टराईले वैशाख ८ मा राजीनामा दिएकी थिइन् ।
यद्यपि, बुधबार शिक्षामन्त्री रघुजी पन्तले नेतृत्व गरेको सरकारी टोलीले त्यही प्रस्तावका आधारमा शिक्षक महासंघसँग सहमति गर्यो । मन्त्रिपरिषद्ले समेत सो प्रस्तावलाई आधार बनाएर निर्णय गरेको छ ।
संयुक्त पत्रकार सम्मेलनमा शिक्षामन्त्री पन्तले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, महासचिव शंकर पोखरेल, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरूको नाम लिँदै आभार व्यक्त गरे । तर पूर्वमन्त्री भट्टराईको योगदानबारे केही बोलेनन् ।
पत्रकार सम्मेलन सकिनै लाग्दा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘पूर्वमन्त्री’ भनेर भट्टराईको स्मरण गरेपछि गृह मन्त्री रमेश लेखकले हस्तक्षेप गर्दै भट्टराईले प्रस्ताव मन्त्रिपरिषद्मा लगेको भन्दै धन्यवाद दिए । त्यसपछि मन्त्री पन्त आफैंले पनि फेरि माइक समात्दै, “म उहाँको राजीनामा खुशीले होइन, दुःखले लिएको थिएँ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु,” भन्दै सम्मान प्रकट गरे ।
शिक्षा आन्दोलन समाधानको पृष्ठभूमिमा पूर्वमन्त्री भट्टराईको सक्रियता निर्णायक साबित भए पनि उनको योगदान प्रारम्भिक प्रतिक्रिया र सम्बोधनमा ओझेलमा परेको देखिएको छ ।