सार्वजनिक सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध नेपाल प्रहरीले “प्रहरी मेरो साथी” र “मुस्कानसहितको सेवा” जस्ता नारालाई आत्मसात् गरेको छ। तर पछिल्ला केही घटनाहरूले प्रहरी संगठनको यो नारा व्यवहारमा मात्र सीमित रहेको प्रस्ट हुन्छ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले प्रहरी कर्मचारीको अनुशासनहीन र बर्बर व्यवहारलाई उजागर गरेको छ। चितवनको भनिएको उक्त घटनामा ड्युटीमा रहेका एक प्रहरीले सर्वसाधारण युवकलाई मोटरसाइकल जाँचका क्रममा बुटले प्रहार गरी मरणासन्न बनाएको देखिन्छ। भिडियोमा ती प्रहरीले युवकलाई बारम्बार बुट र लातले प्रहार गरेको देखिएको छ।
भिडियोअनुसार, ती युवाले कसैलाई फोन गर्ने प्रयास गरेपछि प्रहरी कर्मचारी आक्रोशित भई थप आक्रमणमा उत्रिएका थिए। अन्य प्रहरी कर्मचारी भने घटनास्थलमा मौनदर्शक बनेका देखिन्छन्। घटनाले प्रहरी कर्मचारीको जिम्मेवारी, अनुशासन, र नैतिकताको गम्भीर प्रश्न उठाएको छ।
युवक दोषी थिए या थिएनन् भन्ने कुरा अनुसन्धानबाट मात्र थाहा हुनेछ। तर, प्रहरीको यो प्रकारको हिंस्रक व्यवहारले सम्पूर्ण संगठनको छविमा नकारात्मक प्रभाव पारेको छ। कानुनको कार्यान्वयन गर्ने निकाय स्वयंले कानुनको उल्लङ्घन गर्दा जनतामा संगठनप्रतिको विश्वास खस्कने निश्चित छ।
घटनामा संलग्न प्रहरीलाई तत्काल पहिचान गरी उचित कारबाही गर्नु आवश्यक छ। संगठनले आफ्नो प्रतिष्ठा जोगाउन र कर्मचारीलाई नैतिकतामा आधारित प्रशिक्षण दिनुपर्छ। कानुनी शासनको प्रत्याभूति दिने निकायबाटै यस प्रकारको दुव्र्यवहार हुनुले समग्र न्याय प्रणालीमाथि नै शंका उत्पन्न गराउँछ।
सर्वसाधारणले सुरक्षाको प्रत्याभूति दिनुपर्ने प्रहरीबाटै खतरा महसुस गर्नुपरेमा जनविश्वास खस्कनु स्वाभाविक हो। यसका लागि उच्च तहका अधिकृतहरूले घटनाको यथार्थ जानकारी लिई दोषीप्रति कारबाही गर्न आवश्यक छ। प्रहरी संगठनले आफ्नो प्रतिष्ठा जोगाउन नागरिकहरूसँग सहकार्य र पारदर्शिता अपनाउनुपर्ने समय आएको छ।


