
वीरगन्ज, २३ पुसः
चिसोको तीव्रता बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा जाडो विदा दिने निर्णय गरेको छ। महानगरपालिकाले बुधबार (२४ पुस) देखि शुक्रबार (२६ पुस) सम्म तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो।

महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले मंगलबार जारी गरेको सूचनामा वर्षे विदाबाट कटौती गर्दै यो तीन दिने विदा दिने निर्णय गरिएको उल्लेख छ। यस अन्तर्गत वीरगन्जभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू बन्द रहने छन्।

हाल तराई–मधेस क्षेत्रमा एक सातादेखि चिसो बढेको कारण जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सु र शीतलहरले वृद्धवृद्धा, बालबालिका तथा दैनिक मजदुरी गर्ने व्यक्तिहरूलाई बढी समस्या भइरहेको छ।
यही कारण पर्सा जिल्लाका १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो विदा दिने निर्णय गरेका छन् भने जिराभवानी र ठोरी गाउँपालिकाले अहिलेसम्म यस्तो निर्णय लिएका छैनन्।


