वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) अरविन्दलाल कर्णले पदको दुरुपयोग गर्दै आफ्ना नातागोता र आफन्तलाई करार सेवामा नियुक्ति दिएको तथ्य बाहिरिएको छ।
कर्मचारी स्रोतका अनुसार कर्णले केही महिनाअघि आफ्ना साला शम्भुकुमार कर्णलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेका छन्, जो हाल नगर उपप्रमुखको सचिवालयमा कार्यरत छन्। त्यस्तै, सालाकी पत्नीलाई शिक्षक पदमा नियुक्त गरिएको महानगरका अन्य कर्मचारीहरूले पुष्टि गरेका छन्।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृतकै सचिवालयमा अर्चना कर्ण नामकी अर्को आफन्त कार्यरत रहेको खुलासा भएको छ। उनी यसअघि बहिरा विद्यालयमा काम गर्थिन्। यस्तै, कर्णले राजेन्द्रकुमार कर्णलाई आन्तरिक लेखापरीक्षक पदमा नियुक्त गरी आन्तरिक परीक्षण शाखामा खटाएका छन्।
कर्मचारीहरूले आरोप लगाएका छन् कि नगरप्रमुख र उपप्रमुखको सहमतिमा सुरु भएको कर्मचारी नियुक्ति प्रक्रियामा कर्णले आफ्नो हिस्सा पारेका कोटामा नातागोता भर्ना गराउनुका साथै केही कोटा आर्थिक लेनदेनमार्फत बेचेका छन्।
प्रशासकीय अधिकृत कर्ण विगत सात वर्षदेखि वीरगन्ज महानगरपालिकामै कार्यरत छन्। यसअघि उनी शैक्षिक प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। तर उनले भने आवश्यकताअनुसार मात्र कर्मचारी नियुक्त भएको दाबी गरेका छन्।
sorot ; – nayapatrikadaily


