निरञ्जन शाह ,
फाल्गुन २८, वीरगन्ज। होली पर्वको अवसरमा वीरगन्ज कपडा बैंकले घण्टाघरमा नि:शुल्क कपडा वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५ बजेसम्म आफ्नो कार्यालय, वीरगन्ज-८ बाट गरीब तथा असहायलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको छ। यसै सिलसिलामा होलीको विशेष अवसर पारेर बुधवार घण्टाघरमा नयाँ ६० वटा होली टी-शर्टसहित करिब ८५० थान कपडा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।

कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि समाजसेवी एवं अधिवक्ता प्रकाश कुमार उपाध्याय तथा विशेष अतिथि समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। अन्य सहभागीहरूमा समाजसेवी गौरी गुप्ता, हुकुम सिंह राजपुत, अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह, घण्टाघर प्रहरी चौकी प्रमुख असई लालबाबु यादव, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, बैंकका उपाध्यक्षद्वय मोनिका सिंह र प्रकाश थारु, तथा सदस्यहरू हरेन्द्र पटेल बाबा, अभिषेक तिवारी, जानकी देवी, सञ्जय साह, राहुल सिंह राजपुत, पत्रकार आश महम्मद, जाकिर हुसेन लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि उपाध्यायले बैंकले विगत ६ वर्षदेखि निरन्तर असहाय तथा आवश्यक व्यक्तिहरूलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै, “यदि तपाईं संग थोरै भए पनि बाँड्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, यदि आवश्यक छ भने नि:शुल्क लिन सक्नुहुन्छ” भन्ने भावनालाई आत्मसात गर्दै निरन्तर सेवा दिँदै आएकोमा प्रशंसा गरे। साथै, उनले यस परोपकारी कार्यमा सबैले सकेको सहयोग गर्नुपर्नेमा जोड दिँदै होली पर्वको शुभकामना व्यक्त गरे।
अध्यक्ष सिंहले होली प्रेम, एकता र भाइचाराको पर्व भएकाले यसलाई परम्परागत तरिकाले मनाउन आग्रह गरे। साथै, उनले कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सहभागीजनलाई धन्यवाद ज्ञापन गर्दै होलीको हार्दिक शुभकामना व्यक्त गरे।


