वीरगन्ज, ३ चैत: वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहज जित हात पार्ने दाबी गरेको छ।
नेविसंघका उम्मेदवार विकास मण्डल धानुक (ठाकुरराम क्याम्पस) र दियान्सु श्रेष्ठ (वीरगन्ज नर्सिङ क्याम्पस) नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा रहेको छ। कांग्रेस पर्साका सहसचिव नविन सिंहले दुवै क्याम्पसमा नेविसंघको जित सुनिश्चित रहेको दाबी गरे।
ठाकुरराम क्याम्पसमा नेविसंघको पकड बलियो
सिंहका अनुसार, ठाकुरराम क्याम्पसमा अघिल्ला निर्वाचनको इतिहास हेर्दा नेविसंघलाई टक्कर दिन सक्ने संगठन नरहेको स्पष्ट देखिन्छ। “१६ वर्षदेखि स्ववियु नहुँदा पनि नेविसंघले विद्यार्थीका मुद्दा उठाउँदै आएको छ। यही कारण नेविसंघप्रति विद्यार्थीको समर्थन अझ बलियो बनेको छ,” उनले भने।
नेविसंघ पर्साका सभापति रमेश यादवले पनि वीरगन्जका दुवै क्याम्पसमा नेविसंघको पक्षमा जनलहर देखिएको बताए। उनले भने, “अन्य संगठनहरू स्ववियु चुनावमा मात्रै देखिन्छन्, तर नेविसंघका विद्यार्थी नेता वर्षभरि नै सक्रिय रहन्छन्। यसैले विद्यार्थीको भरोसा हाम्रो संगठनप्रति कायम छ।”
कांग्रेसको समर्थन र जितको आत्मविश्वास
नेविसंघका उम्मेदवारहरू सक्षम र योग्य रहेको भन्दै कांग्रेस नेताहरू पनि जित सुनिश्चित रहेकोमा ढुक्क देखिएका छन्। यादवका अनुसार, पार्टी नेताहरू समेत स्ववियु चुनावलाई जिताउन सक्रिय रुपमा लागेको कारण चैत ५ को मतदानमा नेविसंघको झण्डा दुवै क्याम्पसमा फहराउने निश्चित छ।
“हालको जनलहर हेर्दा शतप्रतिशत नतिजा नेविसंघकै पक्षमा आउँछ भन्नेमा हामी विश्वस्त छौं,” यादवले थपे।


