
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अन्तर्गत आदर्शनगरको बाल मन्दिर आधारभूत विद्यालयमा अध्यनरत २३० जना विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ।
यस कार्यक्रममा वडा कार्यालयले विद्यालयको मागअनुसार, महानगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरी राखेको खेलकुद सामग्री तथा जुत्ताहरू एक विशेष समारोहका बीच वितरण गरेको हो।
वडा अध्यक्ष सुशील कुमार कानुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्किपिङ डोरी, चेस, लूडो, ब्याडमिन्टन, फुटबल लगायतका खेल सामग्रीहरू साथै विद्यार्थीहरूका लागि जुत्ताहरू वितरण गरिएको थियो।
महिला वडा सदस्य मिश्र देवी नगरकोटी, दलित महिला सदस्य प्रेमशिला देवी, सदस्य सन्तोष जैसी चौलागाईं, सदस्य प्रभु प्रसाद महतो, वडा सचिव पवन कुमार प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कुमार टिबडेवाल, निमित्त प्रधानाध्यापक राजकुमारी सिंह लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू गरिब तथा दलित समुदायका रहेको र उनीहरूको शारीरिक विकास तथा अध्ययनमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको जनाइएको छ।
विद्यालय प्रशासनले पुनः माग गरेका सामग्रीहरू उपलब्ध गराउन केही ढिलाइ भए पनि, यो वितरण कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह र उमंग थपेको विद्यालयका शिक्षकहरूले बताएका छन्।