पर्सा । चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयले उल्लेख्य प्रगति गर्दै ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँले बढी हो, जसले करिब १४ प्रतिशत वृद्धिलाई देखाउँछ।
गत वर्ष कार्यालयले पाँच महिनामा ८४ अर्ब ३७ करोड रुपैयाँ मात्र संकलन गरेको थियो। यसपटक आयात–निर्यात गतिविधि सुदृढ हुनु र भन्सार व्यवस्थापन प्रभावकारी बन्नुले राजस्व वृद्धिमा टेवा पुगेको कार्यालयको भनाइ छ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको राजस्व संकलन अपेक्षाअनुसार अघि बढिरहेको छ। “मङ्सिर महिनाका लागि २१ अर्ब ३३ करोड रुपैयाँ उठाउने लक्ष्य थियो, तर सो महिनामा २० अर्ब ८० करोड रुपैयाँ संकलन भई लक्ष्यको ९८ प्रतिशत हासिल भयो,” उनले बताए।
पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व मङ्सिरमै उठेको जनाउँदै ज्ञवालीले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ संकलन भएको जानकारी दिए। कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ भित्रिँदा मङ्सिरमा पुनः वृद्धि देखिएको हो।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई यस आर्थिक वर्षमा कुल २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको छ। हालसम्मको प्रगतिअनुसार वार्षिक लक्ष्यतर्फ सन्तोषजनक गतिमा राजस्व संकलन भइरहेको कार्यालयले जनाएको छ।


