वीरगञ्ज पब्लिक कलेजको बीपीसी टेक क्लबको आयोजनामा ‘बीपीसी टेक हन्ट ३.०’ सफलतापूर्वक सम्पन्न भएको छ। प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दीपक शाक्यले प्रविधिको सही प्रयोगले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ डोर्याउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले सीप र सोच दुवै विकास गर्ने बताए। अतिथिका रूपमा क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ र सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले शैक्षिक संस्थामा टेक्नोलोजी क्लबको भूमिकालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
विशेष अतिथिहरूमा साइबर ब्युरो पर्साका इन्स्पेक्टर बस्नेत र नेपाल टेलिकम कार्यालय प्रमुख मनीष कुमार गुप्ताले साइबर सुरक्षा, डिजिटल जिम्मेवारी र दूरसञ्चार क्षेत्रका अवसरबारे धारणा राखेका थिए।
प्रतियोगितात्मक चरणपछि घोषित नतिजाअनुसार ‘लजिक लर्ड्स’ टिम प्रथम, ‘टेक हन्टर्स’ द्वितीय र ‘कोड हन्टर्स’ तृतीय स्थान हासिल गर्न सफल भए। उत्कृष्ट प्रदर्शन गर्ने सहभागी टिमहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
बीपीसी टेक क्लबका अध्यक्ष साहिल सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मिडिया पार्टनर एएनएन (ANN) ले सहकार्य गरेको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि प्रविधिमैत्री यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।


