
वीरगञ्ज, पर्सा — नेपाल विधुत प्राधिकरणले वीरगञ्जका विभिन्न क्षेत्रमा शनिबार (भोलि) विधुत आपूर्ति केही समयका लागि बन्द हुने जानकारी दिएको छ। आवश्यक मर्मत तथा सुधार कार्यका कारण विधुतीय आपूर्तिमा अवरोध हुन लागेको हो।
प्राधिकरणका अनुसार वीरगञ्ज ग्रिड अन्तर्गत सञ्चालन हुने फिडर नम्बर १ मा मर्मत कार्यको आवश्यकताका कारण बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ। यस क्रममा ११ केभी क्षमताको डिस्कनेक्टिङ स्विच जडान र तारहरूको रिटेन्सन कार्य हुनेछ।
यस मर्मतले पावर हाउस, घण्टाघर, आदर्शनगर, लिङ्क रोड, भानुचोक, ब्रह्मचोक, प्रतिमा चोक तथा गौतम स्कुल आसपासका क्षेत्रहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ।
त्यसैगरी, परवानीपुर ग्रिडबाट सञ्चालन हुने ११ केभी फिडरमा पनि सुधार कार्य गरिने छ। लगातार बिघ्न गरिरहेका रूखका हाँगाहरू हटाउन (बुस कटिङ) तथा लाइन व्यवस्थापन सुधार गर्न बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा पनि विद्युत् बन्द हुनेछ।
प्राधिकरणले मर्मत कार्यका कारण हुने असुविधाप्रति क्षमा मागेको छ र सबै उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ। विशेषतः अस्पताल, उद्योग, व्यापारिक प्रतिष्ठानजस्ता सेवा प्रदायकहरूलाई वैकल्पिक विधुतीय स्रोतको व्यवस्था गर्न अनुरोध गरिएको छ।
