मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व मोहर्रम यसवर्ष पनि वीरगञ्जको पुरानो बसपार्क क्षेत्रमै मनाउने सहमति सर्वदलीय बैठकमार्फत गरिएको छ। वीरगञ्ज महानगरपालिकाको पहलमा बसेको सर्वदलीय छलफलमा सहभागी राजनीतिक दल र स्थानीय निकाय प्रतिनिधिहरूले प्रशासनलाई पुरानै स्थलमा पर्व मनाउन अनुमति दिन आग्रह गर्ने निर्णय गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा कारण देखाउँदै यस वर्षको मोहर्रम कार्यक्रम आदर्शनगरस्थित रंगशालामा सार्न सुझाव दिएपछि स्थानको विषयमा अन्योल उत्पन्न भएको थियो। तर, आज सम्पन्न सर्वपक्षीय बैठकले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि परम्परागत स्थल पुरानो बसपार्कमै मोहर्रमको कार्यक्रम गरिनुपर्नेमा एकमत जनायो।
बैठकमा सहभागीहरूले रंगशालालाई खेलकुद प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने बताए। धार्मिक, सांस्कृतिक र सामुदायिक सौहार्द कायम राख्न तथा धार्मिक स्वतन्त्रताको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै मोहर्रम बसपार्कमै मनाउनुपर्नेमा जोड दिइयो।
बैठकको अध्यक्षता वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले गरेका थिए। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, राप्रपा लगायतका प्रमुख दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रमुख सहभागीहरूमा उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका नेता मणिन्द्रलाल नेपाली, एमालेका सचिव महेश दास, समाजवादीका नेता ईश्वरचन्द्र यादव, जनमतका अध्यक्ष महादेव शर्मा, माओवादी केन्द्रका विजय महतो, एकीकृत समाजवादीका बालगोपाल थापा लगायत थिए।
बैठकले समुदायबीच आपसी समन्वय र सहमति कायम गर्दै धार्मिक सहिष्णुता प्रदर्शन गर्न सबै पक्षलाई आह्वान गर्यो। साथै, स्थानीय प्रशासनले सुरक्षा सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ।


