वीरगञ्ज, ९ कात्तिक। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को आयोजनामा वीरगञ्ज नगरसभा गृहमा सम्पन्न अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा साउथजोन माध्यामिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ। प्रतियोगितामा लिटिल फ्लावर माविले दोस्रो र मनकामना माविले तेस्रो स्थान पाएका छन्।
मूनलाईट माविले चौथो स्थान हात पार्दा गौतम मावि जीवनज्योतीले सान्त्वना पुरस्कार जितेको छ। प्रतियोगितामा पर्सा जिल्लाका २३ वटा विद्यालयले भाग लिएका थिए, जसमा नेपालका विभिन्न जातजातिका भेषभूषा र संस्कृतिलाई उजागर गर्ने गीतहरूमाथि नृत्य प्रस्तुति गरिएको थियो।
कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए। प्याब्सन पर्साका अध्यक्ष पूरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको समापनमा महासचिव आरबी कटुवाल, केन्द्रीय सदस्य छेडुप लामा लगायतले विजयी विद्यालयहरूलाई पुरस्कृत गरेका थिए।
प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले कार्यक्रमको सहजीकरण गरेका थिए भने शुभकामना मन्तव्यमा प्रेस सेन्टर नेपालका सदस्य नीरज पिठाकोटे लगायतको उपस्थिति रहेको थियो।



