
वीरगञ्ज, असार १
वीरगञ्ज महानगरपालिका–६ मा सञ्चालित एक गोप्य गोदामबाट लाखौं रुपैयाँ बराबरका रेडिमेड लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले गरेको छापामा रमेश अग्रवालको घरमा भाडामा लिएको कोठामा बृज किशोर नामका व्यक्तिले गोदाम सञ्चालन गरी अवैध लत्ताकपडा भण्डारण गरिरहेको खुलेको हो।
छापा मारिएको रेशमकोठीस्थित दुई नम्बर सडकको गोदामबाट जीन्स, भेष्टलगायत ठूलो परिमाणका तयारी पोशाकहरू फेला परेका छन्। अनुमान अनुसार बरामद सामानको मूल्य लाखौं रुपैयाँ बराबरको छ।
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा, वीरगञ्ज भन्सार कार्यालयको टोलीसहितको संयुक्त अपरेसनमा उक्त सामग्री नियन्त्रणमा लिइएको हो।
छापाको समयमा गोदाम बन्द अवस्थामा रहेको र सञ्चालक बृज किशोर सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह (अग्रवाल) को रोहबरमा सबै सामानको सूचीकरण गरि भन्सारको जिम्मा लगाइएको हो।
बरामद लत्ताकपडाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमार्फत कारबाही अगाडि बढाइने तयारी रहेको भन्सार स्रोतले जानकारी दिएको छ।