वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडमा रहेको एसबी ट्रेडिङको गोदाममा प्रहरीले छापा मार्दा झण्डै २५ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले विकास गोयलद्वारा सञ्चालित उक्त गोदाममा खानतलासी गर्दा आवश्यक बिल–बिजक शङ्कास्पद देखिएका सामान नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक विक्रम सुबेदीका अनुसार गोदामबाट बेलुन, ब्याण्डेज, तास, पेन्सिल, रबर, गुच्चा, इरेजर, लाइटरलगायतका सामान दुई ट्रक बराबर फेला परेका छन्। प्रारम्भिक मूल्याङ्कनअनुसार ती सामानको बजार मूल्य २५ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।
राजश्व छल्ने उद्देश्यले ठूलो परिमाणमा सामान भण्डारण गरिएको सूचनाका आधारमा गोदाममा छापा मारिएको र सो क्रममा कागजातको अवस्था सन्तोषजनक नदेखिएपछि सामान जफत गरिएको प्रहरीले जनाएको छ।
बरामद भएका सम्पूर्ण सामग्री थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीको भनाइ छ।


