पर्सा: वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पर्वको तयारी आरम्भ भएको छ। घडीअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साहले यसपटक पनि अघिल्लो वर्षहरूको झैं पोखरीमा छठको व्यापक तयारी गरिएको जानकारी दिए।
दिलीप साहले भने, “घडीअर्वा पोखरीमा यसपटकको छठ पूजाका लागि विशेष पण्डाल निर्माण र आकर्षक लाइट सजावट गरिएको छ, जसले धेरै दर्शनार्थीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। लाइट र पण्डालको व्यवस्थापनका लागि जिम्मेवारी तोकिसकिएको छ।” तराई-मधेशका महिलाहरूले छठ पूजालाई आफ्नो परिवारको सुख-समृद्धि र सन्ततिको कल्याणको लागि मनाउने चलन रहेको छ।
यस वर्ष कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन छठ पर्वको मुख्य पूजा हुनेछ। यो पर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएर षष्ठीको दिनसम्म मनाउने प्रचलन छ।
घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठ पर्व मनाउँदै आएको बताए। उनले भने, “छठ पूजा गर्न आउने भक्तजनहरूलाई सहज र व्यवस्थित रूपमा पूजा गर्न मिलोस् भनेर व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।”
छठ पूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले यसपटकको छठ पर्वलाई अझ आकर्षक बनाउनका लागि विशेष प्रकारका बत्ती र पण्डालको व्यवस्था गरिने दाबी गरे।


