चैत्र १०, वीरगंज
वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत रूपमा चयन भएका छन्। संघको आज सम्पन्न निर्वाचन प्रक्रियामा उनी निर्विरोध निर्वाचित भएका हुन्।
संघको अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवहरूमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान तथा सह-कोषाध्यक्षमा निरज अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सहसचिवमा नरेश टिवडेवाल निर्विरोध चयन हुँदा अर्का सहसचिव अनुप अग्रवाल भने निर्वाचन प्रक्रियाबाट चयन भएका हुन्।
नवनिर्वाचित अध्यक्ष हरि गौतमले सम्पूर्ण पदाधिकारीहरू, कार्यसमिति तथा मतदाताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा आपसी सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
संघको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ भने निवर्तमान अध्यक्ष स्वतः कार्यसमितिमा रहनेछन्। साथै, तृतीय उपाध्यक्ष अर्थात् रोजगारदाता समितिको संयोजकको मनोनयन संघको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने व्यवस्था रहेको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए।


