स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरण र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित वीरगंज महानगरपालिकाले वडा नं. ३० लालपर्सामा सञ्चालन गरेको ४५ दिने ह्याण्ड इम्ब्रोडरी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
“लघु उद्यम, दिगो आयआर्जनको आधार” भन्ने अवधारणालाई आत्मसात् गर्दै सञ्चालन गरिएको तालिमले स्थानीय महिलाहरूमा नयाँ सीपको विकाससँगै आत्मनिर्भर बन्ने ढोका खोलेको अपेक्षा गरिएको छ।
तालिम समापन समारोहमा प्रमुख अतिथि महानगर प्रमुख राजेशमान सिंहले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरे। उनले महिलाहरूको आत्मनिर्भरताका लागि यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। “महिलाले घरैबाट आय आर्जन गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “सीप सिकेपछि घरमै बसेर व्यवसायिक उत्पादन गर्न सकिन्छ, जुन दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ।”
महानगरका प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले स्थानीय सरकारको पहलमा सञ्चालन भएका यस्ता तालिमहरू सामाजिक परिवर्तनको प्रमुख आधार बन्ने उल्लेख गरे। “अब महिलाहरूले मात्र काम सिक्ने होइन, सिकेको सीप अरूलाई बाँड्न सक्ने क्षमता पनि विकास गर्ने छन्,” कर्णले बताए।
तालिममा सहभागी महिलाहरूले ह्याण्ड इम्ब्रोडरीका विभिन्न प्रकारका डिजाइनहरू, कपडामा सजावटी कढाई गर्ने तरिका, तथा बजारसँग जोडिने उपायहरूको समेत व्यावहारिक ज्ञान हासिल गरेका थिए। उनीहरूले यस तालिमले आत्मविश्वास र आर्थिक आशाको उज्यालो देखाएको प्रतिक्रिया दिएका छन्।
महानगरले आगामी दिनमा यस्ता तालिमहरू अन्य वडामा पनि विस्तार गर्ने योजना बनाएको छ। यसमार्फत महिलाहरूलाई साना उद्यम सञ्चालन गर्न उत्प्रेरित गर्दै नगरस्तरमै रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वडा नं. ३० का अध्यक्ष मनोज यादव, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजनीतिक सल्लाहकार उमेशलाल सहनीलगायतको उपस्थिति रहेको थियो।


