वीरगंज — वीरगंजमा नयाँ सञ्चार माध्यमको रुपमा ‘सुनौलो आवाज’ नामक पडकास्टको औपचारिक शुभारम्भ गरिएको छ। ग्राफिटी डिजिटल मिडिया प्रा.लि. अन्तर्गत तराई दर्पणद्वारा सञ्चालित उक्त पडकास्ट विशेषगरी युवाहरूका विचार, आवाज तथा स्थानीय सरोकारका विषयवस्तुलाई प्राथमिकता दिँदै अघि बढ्ने लक्ष्यका साथ सुरु गरिएको हो।
वीरगंज महानगरपालिका–५ स्थित माईस्थानमा रहेको संस्थाको कार्यालयमा आयोजना गरिएको एक विशेष समारोहबीच वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम र वीरगंजका पूर्व नगरप्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गौतमले पडकास्टजस्तो सञ्चार माध्यमले समाज परिवर्तनको दिगो माध्यम बन्ने विश्वास व्यक्त गरे। “संस्थागत रूपमा निरन्तरता दिनु नै मुख्य चुनौती हो,” उनले भने, “युवाको सक्रिय सहभागिता सन्देशमूलक बन्नेछ।”
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रमुख एसपी पुरण चन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवसेवा, अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, एक्सपर्ट एजुकेशन भिसा सर्भिसेजका निर्देशक आकाशनाथ जोशी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, इम्प्रुभिङ वीरगंजका प्रमुख सरन गुप्ता लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
पडकास्टका सञ्चालक विशेष साहले ‘सुनौलो आवाज’ वीरगंजको सामाजिक, शैक्षिक, राजनीतिक र आर्थिक क्षेत्रका विषयमा संवाद र बहसको प्रभावकारी माध्यम बन्ने बताए।
पडकास्टको सञ्चालनमा प्रमुख कार्यकारी रवि मण्डल, राहुल कुशवाह, आदित्य सिन्हा लगायतका युवाहरूको महत्वपूर्ण योगदान रहेको आयोजक पक्षले जनाएको छ।
‘सुनौलो आवाज’ पडकास्टले स्थानीय सरोकारको विषय उठाउँदै नागरिक आवाजको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।


