
मोरङ, सुन्दरहरैँचा — मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।
स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बूको खोलामा माछा मार्ने प्रयासकै बीचमा करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालयका अनुसार, लिम्बू दम्पतीले बिजुलीको पोलबाट तारको सहायताले पानीमा करेन्ट प्रवाह गरेर माछा मार्ने कोशिस गरिरहेका थिए। सो क्रममा करेन्ट फ्याल हुँदा दुबैजना घटनास्थलमै ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालले जानकारी दिँदै भनिन्, “मदेली खोलाको पुलमुनी करेन्ट प्रवाह गरेर माछा मार्ने प्रयास गर्दा उनीहरूलाई आफैंलाई करेन्ट लाग्यो र घटनास्थलमै मृत्यु भयो।”
घटनापछि प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।