बिरगञ्ज, जेठ १५— सामाजिक संवाद र नागरिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले आज बिरगञ्जमा ‘लोक चबुतरा’ नामक नयाँ बहस शृङ्खलाको सुरुवात गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर गरिएको पहिलो श्रृङ्खलामा “जनता जगाएको तन्त्र : गणतन्त्र” विषयमा गहिरो विमर्श भयो।
सामाजिक संगठन उत्कर्ष नेपालको पहलमा सुरु गरिएको यो कार्यक्रम खुला नागरिक मञ्चको अवधारणामा आधारित रहेको छ, जहाँ विचारको टकराव होइन, सम्मानजनक छलफललाई प्राथमिकता दिइने आयोजकहरूले बताएका छन्। कार्यक्रममा सहभागी वक्ताहरूले नाराको बदलामा संवाद र भाषणको साटो बहस संस्कृतिको थालनी भएको जनाएका छन्।
कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल तथा जनता समाजवाद पार्टीका स्थानीय नेताहरूको सक्रिय उपस्थिति थियो। उनीहरूले गणतन्त्रको विगतको अभ्यास, वर्तमान चुनौती र भावी सुधारका आयामहरूबारे आफ्ना धारणा प्रकट गरे।
साहित्य, कला, पत्रकारिता र युवाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा हास्य–व्यंग्यकार अशोक कुशवाहा, साहित्यकार अमोद गुप्ता, युवा अगुवा रितुराज पटेल, जेसिस पर्साका अध्यक्ष सरोज चौरसिया, कपडा बैंकका अध्यक्ष लालबाबु राजपूत, अस्मिता पटेल लगायतका व्यक्तिहरूले लोकतान्त्रिक अभ्यासमा जनताको भूमिकालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन पत्रकार राजेन्द्र सिंह राजपूतले गरेका थिए। बिरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न उक्त शृङ्खलालाई निरन्तरता दिइने आयोजकको योजना रहेको छ। उनीहरूका अनुसार “लोक चबुतरा” नागरिक संवाद र आपसी समझदारीलाई मजबुत पार्ने नियमित मञ्च बन्नेछ।


