काठमाडौँ । राष्ट्रिय समता पार्टी नेपालले ऐतिहासिक सुगौली सन्धि (सन् १८१६) लगायत अन्य ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपाली सार्वभौम भूमिभित्र पर्ने भन्दै सो क्षेत्रमा भारत–चीनबीच व्यापार मार्ग खोल्ने विषयमा गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका महासचिव डा. अभिषेक तिवारीद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतामाथि आघात हुने खालका गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै नेपाल सरकारलाई यस विषयमा स्पष्ट र दृढ अडान लिन आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ – “प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयलाई उच्च प्राथमिकतामा राखी कूटनीतिक पहल गर्नुपर्छ ।”
राष्ट्रिय समता पार्टी नेपालले भारत वा चीनले नेपालको सहमति बिना नेपाली भूभाग प्रयोग गर्ने वा सम्झौता गर्ने प्रयास तत्काल अस्वीकार्य हुने चेतावनी दिँदै नेपाली जनतालाई आवश्यक परे सडक आन्दोलनमा उत्रिने समेत जनाएको छ ।


