वीरगन्ज, ९ पुस । लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ। लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विनय बस्नेत प्रमुख अतिथिका रूपमा कपडा बैंकको कार्यालयमै पुगेर दुई बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा विशिष्ट अतिथि प्रथम उप–डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डेले कपडा बैंकले गर्दै आएको निस्वार्थ सामाजिक सेवाको कदर गर्दै अध्यक्ष सिंहलाई लायन्स ब्याज प्रदान गरी सम्मान गरेका थिए।
सो अवसरमा सामुदायिक आँखा अस्पतालका सञ्चालक तथा नेत्ररोग विशेषज्ञ डा. महेश सिंह धामी, लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर अमरबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट सचिव सर्जन चापागाईं, कोषाध्यक्ष चन्दबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, रिकेश साह, उमेश साह कानु, उमेश शर्मा, श्याम गुप्ता, एरिया चिफ रामेश्वरप्रसाद गुप्ता, रिजन चेयरपर्सन सन्दीप गुप्ता, जोन चेयरपर्सन डा. लक्ष्मी थापा र रितिका जैसवाल, परिवार अध्यक्ष नरोत्तम पाण्डे लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बस्नेतले लायन्स क्लब, तिलगंगा आँखा अस्पताल र वीरगन्ज सामुदायिक आँखा अस्पतालको संयुक्त प्रयासमा बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिकहरूको आँखाको ज्योति फर्काउने लक्ष्यसहित सञ्चालन गरिएको अभियानबारे जानकारी गराए। उनले पाँच हजार मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्यअनुसार हालसम्म तीन हजारभन्दा बढी सफल अप्रेसन सम्पन्न भएकोमा खुशी व्यक्त गरे। साथै, विगत केही वर्षदेखि वीरगन्ज कपडा बैंकले असहाय, विपन्न, आगलागी तथा बाढीपीडितको घरदैलोमै पुगेर गरिरहेको सेवाभावको प्रशंसा गर्दै आगामी दिनमा पनि लायन्स क्लबको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
विशिष्ट अतिथि पाण्डेले “तपाईं सँग धेरै छ भने दिनुहोस्, छैन भने आवश्यक परे निःशुल्क लिनुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने अभियानमा निरन्तर काम गरिरहेको बताए। उनले लायन्स क्लब देश–विदेशमा विपद् तथा संकटका बेला निस्वार्थ सेवा गर्दै आएको उल्लेख गर्दै पर्सा र बाराका हजारौँ दलित तथा विपन्न नागरिकको आँखाको शल्यक्रिया भइरहेको र यो अभियान निरन्तर रहने स्पष्ट पारे। साथै, मानवता सुदृढ बनाउन सबै सामाजिक संघ–संस्थाले हातेमालो गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विभिन्न समय र परिस्थितिमा गर्दै आएको सेवामूलक कार्यको प्रशंसा गरे। उनले विशेषगरी पर्सा र बारा जिल्लामा सञ्चालन भइरहेको आँखा शिविरमार्फत हजारौँ असहाय नागरिकको मोतियाबिन्दु शल्यक्रिया गरिनु मानव सेवाको उत्कृष्ट उदाहरण भएको बताए। कपडा बैंकको अभियानमा ऊर्जा थप्ने गरी प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै सिंहले लायन्स परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे।


