
काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा ललितपुर सिटी एफसीले उपाधि जित्न सफल भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको रोमान्चक फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्यो।
उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार हात पार्यो भने उपविजेता बनेको पोखरा थन्डर्सले ३० लाख रुपैयाँमा चित्त बुझाउनुपर्ने भयो।
ललितपुरका लागि इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे। पहिलो हाफको ४२औँ मिनेटमा इजाकियलले गरेको गोलले ललितपुरलाई अग्रता दिलाएको थियो। खेलको पहिलो भागमा ललितपुर १–० ले अघि थियो।
तर दोस्रो हाफमा पोखराले खेलमा फर्कने प्रयास गर्यो। खेलको ६४औँ मिनेटमा सुदील राइले रिबाउन्डबाट गोल गर्दै खेल बराबरीमा ल्याए। स्टेफन समीर बिनोङको हेड प्रहारपछि आएको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले रोक्न सफल भए पनि फिर्ती बलमा सुदीलले गोल गरेका थिए।
तर ललितपुरको जितको चाहना बलियो रह्यो। खेलको ७४औँ मिनेटमा इमोह इजाकियलको क्रसमा पापा इबाउले विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गरे र टोलीलाई फाइनलको विजयी अवस्थामा पुर्याए।
ललितपुर सिटी एफसीले यसपटकको लिग चरणमा अपराजित यात्रा तय गरेको थियो। उनले काठमाडौँसँग सुरुआतमा २–२ को बराबरी खेलेका थिए भने पोखरालाई ३–२ ले हराएका थिए। धनगढीसँग गोलरहित बराबरी गरेपछि चितवनमाथि २–१, बुटवलमाथि २–० को जित र झापासँग १–१ बराबरी गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। कुल ३ जित र ३ बराबरीका साथ १२ अंक जोड्दै ललितपुर पहिलो क्वालिफायरमा पुगेको थियो जहाँ उनले धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए।
त्यस्तै, पोखरा थन्डर्सले प्रतियोगिताको सुरुआत चितवनसँग २–० को हारबाट गरेका थिए। त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भए पनि काठमाडौँलाई २–० ले हराएर पुनरागमन गरेका थिए। धनगढी र झापासँग बराबरी खेल्दा बुटवलमाथि २–० को जित हासिल गरेका थिए। दुई जित, दुई बराबरी र दुई हारसहित पोखराले ८ अंक जोड्दै गोलअन्तरका आधारमा प्लेअफमा चौँथो स्थानबाट स्थान सुरक्षित गरेको थियो।
प्लेअफमा पोखराले इलिमिनेटरमा चितवनमाथि ३–० को जित निकाल्दै बदला चुकाएको थियो भने दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो। यद्यपि, फाइनलमा ललितपुरको शानदार प्रदर्शन सामु उनीहरूले हार स्वीकार्न बाध्य भए।