२२ वैशाख, रौतहट — रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि भएको अमानवीय कुटपिटको घटना सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा ती व्यक्तिलाई तीन जनाले नियन्त्रणमा लिएर अर्का एक जनाले पैतलामा लट्ठी प्रहार गरिरहेको देखिन्छ। भिडिओमा प्रयोग भएको वस्तु सतो पाइप जस्तो देखिन्छ भने, करिब ४१ सेकेन्ड लामो भिडिओमा पृष्ठभूमिमा गीत बजाएर पिडितको चिच्याएको आवाज दबाउने प्रयास गरिएको देखिन्छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले भिडिओ प्रहरीको ध्यानमा आएको र अनुसन्धान सुरु गरिएको जानकारी दिए। “हामीले सुधार केन्द्रका सञ्चालकलाई बोलाएर सोधपुछ थालेका छौं,” डीएसपी रायले बताए।
उनका अनुसार भिडिओको वास्तविकता पुष्टि गर्ने कार्य अघि बढाइएको छ र दोषी पाइए कानुनी कारबाही गरिनेछ। यस घटनाले सुधार केन्द्रको नाममा भइरहेका अमानवीय व्यवहारमाथि प्रश्न उठाएको छ।
यस्तो अमानवीय व्यवहारको विरोध गर्दै सामाजिक सञ्जालमा सर्वसाधारणले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।


