
असार १।
रौतहटको गरुडा नगरपालिका–१ स्थित जयनगरमा चट्याङ लाग्दा एक वृद्धको ज्यान गएको छ।
प्रहरीका अनुसार ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर ज्यान गएको हो। विहानको समयमा मौसममा अचानक परिवर्तन आएपछि वर्षा सुरु भएको थियो। त्यसै बेला घर अगाडिको आँगनमा बाँधिएका बाख्रा फुकाउँदै गर्दा बनिया चट्याङको चपेटामा परेका थिए।
घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले जानकारी दिएका छन्।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। मौसम खराब भएको बेला सावधानी अपनाउन प्रहरीको आग्रह पनि छ।