वीरगञ्ज, वैशाख ४ — नेपाली मोटरसाइकल बजारमा रोयल इन्फिल्डले नयाँ उत्साह ल्याएको छ। विश्वप्रसिद्ध मोटरसाइकल निर्माता कम्पनीले आज नेपालमा क्लासिक ३५० को पाँच नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। आधुनिक डिजाइन र परम्पराको मेल भएको यो मोडल सात आकर्षक रंगमा उपलब्ध छ।
नयाँ क्लासिक ३५० को निर्माण नेपालमै रहेको सिकेडी प्लान्ट (Semi-Knocked Down – SKD Plant) मा गरिएको हो। कम्पनीले आजैदेखि बुकिङ, टेस्ट राइड तथा बिक्री सुरु गरेको जानकारी दिएको छ।
सुरक्षा र प्रविधिमा आधुनिकता
रोयल इन्फिल्डले यसपटक आफ्नो मोटरसाइकलमा उल्लेखनीय प्रविधिक फिचरहरू थपेको छ। सबै भेरियन्टमा एलईडी हेडलाइट, टाइप-C यूएसबी चार्जर, गियर इन्डिकेटर र डुअल च्यानल एबीएस (ABS) जस्ता सुविधा दिइएका छन्। सुरुको भेरियन्टमै यस्ता उच्चस्तरीय प्रविधि समेटिएको हुनुले यो बाइकलाई प्रतिस्पर्धी बजारमा अगाडि ल्याउने अपेक्षा गरिएको छ।
पारम्परिक आत्मा, आधुनिक स्पर्श
कम्पनीका अनुसार क्लासिक ३५० ले आफ्नो ऐतिहासिक र पारम्परिक शैलीलाई आधुनिक प्रयोगकर्ता लक्षित प्रविधिसँग जोडेको छ। यो नयाँ मोडल न केवल लुक्सको हिसाबले आकर्षक छ, तर सुरक्षा र उपयोगिताका हिसाबले पनि सन्तुलित रहेको बताइएको छ।
नेपालका युवाहरूबीच झनै लोकप्रिय हुने अपेक्षा गरिएको यो बाइकले आगामी दिनमा बजारमा उल्लेखनीय प्रभाव पार्ने विश्वास गरिएको छ।


