काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।
आइतबार (हिजो) काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा ठूलो संख्यामा फोहोर फैलिएको, पोस्टर तथा झन्डाहरू अव्यवस्थित रूपमा टाँसिएको तथा ध्वनि प्रदूषण भएको भन्दै महानगरले कारबाही स्वरूप जरिवाना तोकेको हो।
राप्रपाले महानगरको निर्णय अनुसार जरिवाना तिरेको पुष्टि गर्दै भविष्यमा यस्ता गतिविधिमा सचेत रहने बताएको छ। पार्टीका एक नेताले भने, “हाम्रो उद्देश्य पूर्वराजालाई स्वागत गर्नु मात्र थियो, वातावरणीय मापदण्ड पालना गर्न नसकेकोमा ध्यान दिइनेछ।”
यसअघि पनि महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहोर फैलाउने वा नियम विपरीत गतिविधि गर्ने विभिन्न राजनीतिक दल तथा संस्थाहरूलाई कारबाही गर्दै आएको छ।


