सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको सुनुवाइ अनिश्चित बनेको छ।
आजका लागि पेशी तोकिए पनि सम्बन्धित इजलास नबस्दा मुद्दाको सुनुवाइ हुन सकेन। महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगको अभियोगमा मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णय गैरकानुनी र पूर्वाग्रही भएको दाबी गर्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
रिट निवेदनमा सफलले अमेरिकी नागरिक हुँदाहुँदै आफूलाई नेपाली नागरिक भनी राहदानी लिएको विषय ‘राहदानी ऐन, २०२४’ को दफा ५(ख) विपरीत पर्ने स्पष्ट रहेको जिकिर गरेका छन्। यति स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गर्नु अनुचित भएको उनको तर्क छ।
आज सुनुवाइ हुने अपेक्षा गरिएको भए पनि इजलास नबसेको जानकारी प्राप्त भएको सफलले बताएका छन्। “एक नम्बर इजलासमा पेशी तोकिएको थियो, तर इजलास नै बसेन। त्यसैले म अहिले सर्वोच्च जाँदैछु,” उनले बताए।
उक्त मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एक नम्बर इजलासमा तोकिएको थियो। पछिल्लो समय जटिल प्रकृतिका मुद्दाहरूमा सुनुवाइ ढिलो हुँदै आएको भन्दै कानुनी वृत्तमा चासो बढ्दै गएको छ।


