वीरगञ्ज । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले नारायणी रंगशालाको स्तरोन्नतिमा स्थानीय र संघीय सरकारबीचको सहकार्य अत्यन्त आवश्यक रहेको बताउनुभएको छ। आइतबार रंगशालाको अनुगमन भ्रमणका क्रममा मन्त्री यादवले खेलकुद पूर्वाधारको सुदृढीकरणले मात्रै युवाहरूलाई खेल क्षेत्रमा उज्यालो भविष्य निर्माण गर्ने अवसर प्रदान गर्न सक्ने बताउनुभयो।
अनुगमनका क्रममा मन्त्री यादवले पर्सा क्रिकेट संघ र अध्यक्ष मनिष सिंहको प्रयासको सराहना गर्दै खेलकुद प्रवर्द्धनमा निरन्तर लाग्नुभएको योगदानको उच्च कदर गर्नुभयो। उहाँले नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा परिणत गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि थप स्रोतसाधन जुटाइने आश्वासन दिनुभयो।
रंगशालाको विकासमा मुख्य अवरोधको रुपमा देखिएको मुआब्जा समस्याको समाधान गर्न सरकार लागिपरेको जानकारी गराउँदै मन्त्री यादवले केही दिनअघि खेलकुद मन्त्री तेजुलाल चौधरीसँग छलफल गरी मुआब्जासम्बन्धी समस्यालाई शीघ्र टुङ्ग्याउन आग्रह गरेको स्मरण गराउनुभयो। “रंगशालाको प्रगतिलाई निरन्तरता दिन निर्माणसँग सम्बन्धित प्रशासनिक अवरोधलाई समयमै समाधान गर्नु अनिवार्य छ,” मन्त्री यादवले जोड दिनुभयो।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले रंगशालाको स्तरोन्नतिलाई वीरगञ्जको खेलकुद क्षेत्रमा एक ऐतिहासिक परिवर्तनको रुपमा व्याख्या गर्दै यसको विकासले स्थानीय अर्थतन्त्र र पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले पनि नारायणी रंगशालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरू आयोजना गर्न सक्ने स्तरको पूर्वाधार निर्माणमा देखिएको प्रगति महत्वपूर्ण भएको बताउनुभयो। उहाँले खेलकुदको विकासमा संघीय तथा स्थानीय निकायको निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।
मन्त्री यादवको यस भ्रमणले नारायणी रंगशालाको स्तरोन्नतिमा थप गतिशीलता ल्याउने र स्थानीय तथा संघीय सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। वीरगञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद केन्द्रका रुपमा स्थापित गर्ने यो प्रयासले स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्ने र खेलकुदमा भविष्य देख्ने युवाहरूका लागि प्रेरणा सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।



