
वीरगञ्ज, पर्सा — सीमा पार मानव तस्करीको प्रयासमा संलग्न एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ निवासी २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङ रहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
बुधबार साँझ भारत सीमा हुँदै एक युवतीलाई लैजाँदै गरेका तामाङलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले चेकजाँचका क्रममा रोकेको थियो। भारततर्फ जान लागेका एक पुरुष र एक युवतीलाई शंका लागेपछि प्रहरीले सोधपुछ गर्दा घटना खुलासा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी सुवास भट्टले बताए।
अनुसन्धानका क्रममा तामाङले युवतीलाई ‘वीरगञ्ज नजिकैको कपडा फ्याक्ट्रीमा राम्रो तलब दिने काम’ भनेर झुक्याई भारत लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि दुवैलाई नियन्त्रणमा लिई पर्सा ल्याइएको हो।
हाल तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट सात दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।